काठमाडौंमा आज हुने दुई ठूला राजनीतिक प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले बिहानैदेखि सवारी डाइभर्सन लागू गरेको छ। प्रदर्शनका कारण विभिन्न सडकमा सवारी आवागमन प्रभावित भएको छ।
राजावादी समूहले तीनकुनेमा दिउँसो १ बजे र गणतन्त्र समर्थक समूहले भृकुटीमण्डपमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। यी प्रदर्शनका कारण काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम बढेको छ।
ट्राफिक प्रहरीका अनुसार, विशेष गरी रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर र बानेश्वर क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ। सवारी जामका कारण कार्यालय जाने यात्रुहरूलाई असहज भएको छ।
यातायात व्यवस्थापनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले १,८०० ट्राफिक प्रहरी खटाएको छ। ट्राफिक प्रहरीका अनुसार, आवश्यकतानुसार विभिन्न स्थानबाट सवारी डाइभर्सन गरिएको छ।
काठमाडौं उपत्यकामा हुने प्रदर्शन र सवारी डाइभर्सनका कारण यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन तथा अत्यावश्यक बाहेकका सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।