काठमाडौं, चैत ११ – संघीय संसद्का दुवै सदन— प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। बैठकको सम्भावित कार्यसूचीअनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ।
यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रस्ताव पेश गर्नेछन्।
राष्ट्रियसभा बैठक
राष्ट्रियसभा बैठक दिउँसो १:१५ बजे बस्नेछ। बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ। छलफलपछि विधेयक पारित गर्ने प्रस्ताव पेश गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। साथै, उनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।
आर्थिक विधेयकहरूमा छलफल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। छलफलपछि उनले सोही विधेयक पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछन्।
त्यसैगरी, उपप्रधानमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल र पारित गराउने प्रस्ताव पेश गर्नेछन्। आर्थिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी कानुन संशोधन प्रस्ताव पनि राष्ट्रियसभामा प्रस्तुत हुने कार्यसूची रहेको छ।
संसदीय गतिविधिमा चासो
आजका बैठकहरूमा अर्थ, ऊर्जा, जलस्रोत, सहकारी तथा निजीकरणसम्बन्धी महत्त्वपूर्ण विधेयकहरूमा छलफल हुन लागेकाले संसदीय गतिविधिप्रति राजनीतिक दलहरू, सरोकारवाला निकायहरू र आम नागरिकको चासो बढेको छ। प्रस्तावित विधेयकहरू पारित भएमा आर्थिक तथा प्रशासनिक सुधारमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।