काठमाडौं – राजधानीमा राजावादी समूहको अराजक प्रदर्शनपछि उत्पन्न परिस्थितिको समीक्षा गर्न गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। बैठकमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी भएका छन्।
बैठकमा हालसम्मको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै उपद्रव नियन्त्रणका लागि आवश्यक कदमबारे छलफल भएको स्रोतले जनाएको छ। विशेषगरी, प्रदर्शनका क्रममा भएका तोडफोड र लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने विषय बैठकको प्रमुख एजेन्डा रहेको बताइएको छ।
यसअघि, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशालादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु आदेश जारी गरेको छ। आदेश अनुसार सो क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।
यसैबीच, उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले सुरक्षा स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन्। उनले तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाही गरिने बताएका छन्। प्रहरीलाई आवश्यक परेको अवस्थामा बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको र अवस्था गम्भीर भए गोली चलाउनसमेत निर्देशन दिइएको तामाङले उल्लेख गरे।
प्रहरी प्रशासनले प्रदर्शनमा संलग्न समूहका गतिविधि निगरानी गरिरहेको छ भने दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन विशेष अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएको छ। सुरक्षा संवेदनशीलता बढ्दै गएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ, र स्थिति नियन्त्रणमा लिन प्रशासनले कठोर कदम चाल्न सक्ने संकेत गरेको छ।
सरकारले नागरिकलाई अफवाहमा नफस्न र तोकिएको क्षेत्रभित्र प्रवेश नगर्न आग्रह गरेको छ। राजधानीको सुरक्षा अवस्था केही तनावग्रस्त भए पनि नियन्त्रणका लागि सुरक्षाकर्मी उच्च सतर्कताका साथ परिचालित रहेको प्रशासनले जनाएको छ।