काठमाडौँ, चैत १६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार हिंसा भड्काउन उद्यत रहेको आरोप लगाएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले पछिल्लो घटनाक्रमलाई हेर्दा सरकार नै अशान्ति सिर्जना गर्न खोजेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले हिंसा भड्काउन उक्साएको बताए। “प्रधानमन्त्रीले प्रतिकारको आह्वान गर्नुभएको छ, जसले सरकार नै हिंसा भड्काउन चाहन्छ भन्ने देखिन्छ,” उनले भने।
तीनकुनेमा राजावादीहरूको सभामा नियोजित रूपमा अश्रुग्यास प्रहार गरिएको आरोप लगाउँदै लिङ्देनले सरकार प्रदर्शन बिथोल्न लागेको दाबी गरे। “शान्तिपूर्ण सभा भइरहेको बेला नियोजित रूपमा टियर ग्यास प्रहार गरियो, जुन सरकारको पूर्वयोजना अनुसार भएको देखिन्छ,” उनले थपे।
यस्तै, पत्रकार सुरेश रजकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै लिङ्देनले तोडफोड, आगजनी र लुटपाटका घटनामा समेत सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको बताए।
राप्रपाले हिंसा नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।