काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा लाई अविलम्ब रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। माग पूरा नभए देशव्यापी विरोध प्रदर्शन र आन्दोलन गर्ने चेतावनी अध्यक्ष राजेन्द्र लिङ्देन ले दिएका छन्।
शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक ले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै सरकारको कदमको कडा विरोध गरेको छ। बैठकपछि अध्यक्ष लिङ्देनले सरकारको दमनकारी नीति र दोहोरो चरित्र प्रति आपत्ति जनाउँदै प्रजातान्त्रिक मूल्यमान्यतामाथि प्रहार सह्य नहुने बताए।
आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी
लिङ्देनका अनुसार, यदि २४ घण्टाभित्र मिश्र र राणाको रिहाइ नभए, राप्रपाले देशभर चरणबद्ध आन्दोलन गर्नेछ। पार्टीका नेता तथा कार्यकर्ताहरूलाई संघर्षका लागि तयार रहन निर्देशन दिइएको छ।
बैठकले हालै तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै भूमिका रहेको ठहर गरेको छ। सरकारकै योजनामा उक्साहटपूर्ण गतिविधि गराइएको भन्दै राप्रपाले शान्तिपूर्ण प्रदर्शनमाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ।
सरकारको आलोचना, संविधानसम्मत अधिकारको रक्षा गर्न आग्रह
राप्रपाले सरकारलाई लोकतान्त्रिक व्यवस्थामा विरोध प्रदर्शन गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। सत्ता पक्षले विरोधलाई दबाउने, डर देखाउने र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्ति अपनाएको राप्रपाको आरोप छ।
अध्यक्ष लिङ्देनले भने, “विरोधको हक कुण्ठित गर्ने कुनै पनि सरकारी कदमविरुद्ध राप्रपा संघर्ष गर्न पछि हट्ने छैन। हाम्रो माग पूरा भएन भने सरकारलाई कडा आन्दोलनको सामना गर्नुपर्छ।”
राप्रपाले अब सरकारको कदम र २४ घण्टे अल्टिमेटमपछि आउने प्रतिक्रियाअनुसार थप रणनीति तय गर्ने जनाएको छ।