काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन्।
व्यवस्थापन कार्य अन्तर्गत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सार्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन्।
यसबाहेक, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।