काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार साँझ ६:३० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हालै तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्रीले दलहरूबीच परामर्श गर्न बैठक आयोजना गरेका हुन्। सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि बैठकबारे पुष्टि गरेका छन्।
प्रधानमन्त्रीले गणतन्त्र समर्थक दलहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन्। तर, राजसंस्था पुनर्स्थापनाको एजेन्डा अघि सारेको राप्रपालाई भने बैठकमा बोलाइएको छैन। प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि विपक्षी दलहरूको बैठकमा राप्रपालाई नबोलाएको घटनासँग यसलाई तुलना गर्न सकिन्छ।
यसैबीच, प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोन संवाद भएको छ। एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संसद अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गरेका हुन्। सरकारद्वारा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा असन्तुष्ट विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।