काठमाडौं, चैत १९ – नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान निर्माणका क्रममा जनताले हिन्दुराष्ट्रका पक्षमा दिएको रायलाई बेवास्ता गरिएको आरोप लगाए।
सांसद गिरीका अनुसार संविधान निर्माणका बेला जनताले दिएको रायलाई सुरक्षित रूपमा राखिए पनि त्यसलाई सार्वजनिक नगरी उपेक्षा गरिएको छ। उनले भने, “संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ। त्यो खोलियोस् त !”
उनको दाबी अनुसार, नेपालका ८० प्रतिशतभन्दा बढी जनताले हिन्दुराष्ट्रका पक्षमा मत दिएका थिए, तर केही व्यक्तिहरूको चलखेलका कारण नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भयो। “त्यति बेला ८० प्रतिशतभन्दा बढी जनताले हिन्दुराष्ट्र हुनुपर्छ भनेका थिए। कसैले हिन्दुराष्ट्र हटाउनु पर्ने भनेका थिएनन्,” उनले भने।
सांसद गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको उल्लेख गर्दै थपे, “अहिले पनि ती अभिलेख र रायहरू पुनः हेर्नुपर्छ। नेपालमा हिन्दुराष्ट्र अत्यन्त आवश्यक भएको देखिन्छ।”
उनले हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमतलाई ध्यानमा राख्दै सरकारलाई निर्णय लिन आग्रह गरे। हिन्दुराष्ट्रको समर्थनमा रहेका पुराना अभिलेखहरू सार्वजनिक गर्नुपर्ने मागसमेत उनले अघि सारे।
हिन्दुराष्ट्रको बहस पुनः तातियो
नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने विषय पटक–पटक चर्चामा आइरहे पनि यसबारे कुनै ठोस निर्णय भइसकेको छैन। विभिन्न राजनीतिक दलहरूबीच यस विषयमा मतभेद रहेको पाइन्छ।
सांसद गिरीको अभिव्यक्तिले नेपालको राजनीतिमा पुनः हिन्दुराष्ट्रको बहस ताजा बनाएको छ। अब सरकार र अन्य राजनीतिक दलहरूले यस विषयलाई कसरी लिन्छन् भन्ने चासो बढेको छ।