सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि निरंकुशतावादविरुद्ध ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन्।
शनिबार बिहान काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको आठौं संस्करणको उद्घाटन गर्दै मन्त्री गुरुङले खुला र प्रजातान्त्रिक समाजमै मात्र खेलकुदजस्ता गतिविधिहरू सम्भव हुने बताए।
“खेलकुदजस्ता गतिविधि स्वतन्त्र वातावरणमा मात्रै सम्भव हुन्छन्,” उनले भने, “संविधानले तोकेको सिमानभित्र रहेर अगाडि बढ्नुपर्छ, चाहे त्यो वैचारिक होस् वा भौगोलिक।”
उनले अतिवादी सोच, जातीय विभाजन र विखण्डनकारी प्रवृत्तिहरूलाई रोक्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। “हामीले यस्तो सोचलाई समर्थन होइन, निरुत्साहित गरिरहेका छौं,” गुरुङले बताए।
प्रजातन्त्रको रक्षा र निरंकुश सोचको अन्त्यका लागि ठूलो सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले सबैलाई त्यस अभियानमा जोडिन आग्रह गरे।
प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री गुरुङले टि–अफ गर्दै प्रतियोगिता औपचारिक रुपमा सुरू गरेका थिए। आजको कार्यक्रममा ९६ जना कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।