काठमाडौं — गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेका दुर्गा प्रसाईंको खोजीमा नेपाल प्रहरीले भारतसम्म अभियान थालेको छ। प्रदर्शनपछि फरार रहेका प्रसाईं भारततर्फ भागेको पुष्टि भएपछि, नेपाल प्रहरीको विशेष अनुसन्धान टोली भारतीय प्रहरीसँग समन्वय गर्दै उत्तर प्रदेश पुगेको छ।
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक सूचनामा प्रसाईं भारतको उत्तर प्रदेश पुगेको देखिएको थियो, तर त्यहाँबाट पनि उनी अन्यत्र गएका हुनसक्ने अनुमान गरिएको छ। हालसम्म उनी कहाँ लुकेका छन् भन्ने ठोस जानकारी प्रहरीले पाएको छैन।
तीनकुनेको प्रदर्शनपछि प्रसाईंले भाग्न प्रयोग गरेको स्कार्पियो गाडी (बा.इ.बी. ४२०८) प्रहरीले इटहरीबाट बरामद गरेको छ। सो गाडी प्रसाईंकै स्वामित्वमा रहेको झापाको विएन्डसी अस्पतालसम्म प्रयोग भएको खुलेको छ। अनुसन्धानका क्रममा गाडी चालक ईश्वर विकलाई प्रहरीले पक्राउ गरी तारेखमा छोडेको छ भने गाडीका धनी मुक्कुद दाहाललाई नियन्त्रणमा लिएको छ। दाहाल प्रसाईंको निकट सहयोगी मानिन्छन्।
चैत १५ गतेका दिन राजावादी समूहले आयोजना गरेको प्रदर्शनको नेतृत्व स्वयं दुर्गा प्रसाईंले गरेका थिए। उनी कमाण्डमा रहेको समूह अराजक बनेपछि प्रहरीले अवस्था नियन्त्रण गर्न ११० राउन्ड गोली प्रहार गर्नुपरेको थियो। घटनामा गोली लागेर कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो भने आगजनीमा परेर पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो।
उक्त झडपमा २० जना गोली लागेर घाइते भएका थिए। यस्तै, प्रहरीले सार्वजनिक सम्पत्ति नष्ट गर्ने, लुटपाट र आगजनीमा संलग्न रहेको अभियोगमा ६७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। हालसम्म १६१ जनालाई पक्राउ गरिए पनि प्रारम्भिक छानबिनपछि अधिकांशलाई रिहा गरिएको छ।
यसैबीच, उक्त घटना अराजक बनाउन निर्देशन दिएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, अनुसन्धान अझै जारी छ र अन्य संलग्न व्यक्तिहरु पनि निगरानीमा रहेका छन्।