साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेश लगायत १४ देशमाथि अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ। उमराह भिसा, व्यापारिक भ्रमण भिसा तथा पारिवारिक भ्रमण भिसामा यो प्रतिबन्ध लागु गरिएको हो।
साउदी अधिकारीहरूका अनुसार हज अवधिमा अत्यधिक भीड व्यवस्थापन गर्नका लागि यस्तो निर्णय गरिएको हो। प्रतिबन्ध आगामी जुन महिनाको मध्यसम्म कायम रहने बताइएको छ, जुन बेलासम्म वार्षिक हज यात्रा सम्पन्न भइसक्नेछ।
हजमा अनधिकृत सहभागिता मुख्य कारण
सन् २०२४ मा हजको समयमा अत्यधिक भीडका कारण १,२०० भन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थिए। तीमध्ये धेरै अनधिकृत यात्रु रहेको पुष्टि भएपछि साउदी सरकारले कडा कदम चाल्ने निर्णय लिएको हो। उमराह तथा भ्रमण भिसामा साउदी प्रवेश गरी, त्यसपछि अनाधिकृत रूपमा हजमा सहभागी हुने क्रम बढेको भन्दै यस्तो रोक लगाइएको हो।
प्रतिबन्धित देशहरूको सूची
भिसा प्रतिबन्ध निम्न १४ देशका नागरिकहरूका लागि लागु गरिएको छ:
1. भारत
2. पाकिस्तान
3. बंगलादेश
4. इथियोपिया
5. अल्जेरिया
6. इन्डोनेसिया
7. इराक
8. जोर्डन
9. नाइजेरिया
10. इजिप्ट
11. सुडान
12. ट्युनिसिया
13. यमन
14. मोरोक्को
यस प्रतिबन्धले ती देशका नागरिकहरूले हज अवधि पूरा नभएसम्म उमराह वा भ्रमण भिसा आवेदन दिन वा साउदी अरेबिया प्रवेश गर्न सक्ने छैनन्।
साउदी सरकारको आग्रह
साउदी सरकारले सबै मुस्लिम राष्ट्रलाई सहकार्य गर्न आग्रह गर्दै, हजलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयासमा सहयोग पुर्याउन अनुरोध गरेको छ। यस किसिमको अस्थायी प्रतिबन्ध आगामी दिनहरूमा हरेक हज सिजनमा लागू हुनसक्ने संकेत पनि विश्लेषकहरूले गरेका छन्।