देशका विभिन्न प्रदेशमा हालसालै हल्कादेखि मध्यम खालको वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा वर्षा भएको छ भने उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत पर्न सक्ने सम्भावना रहेको छ।
कोशी प्रदेश अन्तर्गत संखुवासभा र सोलुखुम्बुमा वर्षा मापन भएको छ।
बागमती प्रदेशमा दोलखा, सिन्धुपाल्चोक र रसुवामा पानी परेको छ।
गण्डकी प्रदेशमा कास्की, बाग्लुङ, म्याग्दी र पर्वतमा वर्षा रेकर्ड गरिएको छ।
लुम्बिनी प्रदेशमा रोल्पा, प्युठान र पाल्पामा पनि वर्षा भएको देखिएको छ।
कर्णाली प्रदेशका केही स्थानहरूमा समेत वर्षा मापन भएको विभागले जनाएको छ।
गत २४ घण्टाको तथ्यांक अनुसार म्याग्दीको मुना स्टेसनमा सबैभन्दा बढी ३२.६ मिलिमिटर पानी परेको छ। त्यसपछि सिन्धुपाल्चोकको चन्द्रखुमा २२ मिलिमिटर, गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ।
झापाको बाहुनडाँगीमा पनि २१.४ मिलिमिटर वर्षा भएको छ। कर्णाली प्रदेशको जाजरकोटको दल्ली स्टेसनमा १९.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै रुकुमपश्चिमको मुसिकोट नगरपालिका–९ चौखाबाङ क्षेत्रमा असिना पानी परेको छ जसले त्यहाँको गहुँ बाली र तरकारीमा क्षति पुर्याएको छ।
काभ्रेको पनौती क्षेत्रस्थित रोशी खोलामा ७.६ मिलिमिटर पानी परेको भए पनि काठमाडौँ उपत्यकामा भने व्यापक सुक्खा अवस्था देखिएको थियो। साँखुमा सामान्य छिट्याउने वर्षा बाहेक अन्य क्षेत्रहरूमा वर्षा रेकर्ड भएको छैन।
तर मौसमविदहरूका अनुसार आज र भोलि काठमाडौँमा पनि वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल उपत्यका वरपर बाक्लो बादल लागेको छ र अपराह्नतिर मेघगर्जनसहित पानी पर्न सक्ने सम्भावना छ। उनका अनुसार काठमाडौँमा हल्कादेखि मध्यम खालको वर्षा हुने संकेत देखिएको छ।
हाल देशभरि पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाइएको छ। त्यसैले केही दिन वर्षा, बदली र हिमपातको सम्भावना उच्च रहेको छ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आगामी दिनहरूमा विशेषगरी कोशी र मधेश प्रदेशका केही भूभागमा मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ। अन्य प्रदेशहरूमा भने छिटफुट हल्का पानी पर्न सक्छ।
पूर्वी तराई र कोशी प्रदेशमा आज र भोलि व्यापक वर्षा हुन सक्ने पूर्वानुमान छ भने शुक्रबारदेखि देशभर पानी पर्नेको क्रम क्रमशः घट्दै जाने देखिएको छ।