काठमाडौं — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा सरकार ढल्ने हल्ला फैलाउनेहरू अहिले निराश बनेको टिप्पणी गरेका छन्। एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता भ्रमको पछि नलाग्न सांसदहरूलाई स्पष्ट निर्देशन दिएका हुन्।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणपछि सरकार परिवर्तन हुने आशंका व्यक्त गरिएको उल्लेख गर्दै भने, “सरकार त बांगिसक्यो, देउवा फर्केपछि त ढल्छ भनेर हल्ला चलाइएको थियो। तर, देउवाले नै सरकार नढल्ने बताएपछि ती हल्लाबाजी गर्नेहरू झन् गलानीमा परेका छन्।”
ओलीले राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धि स्थापित गर्न दुई ठूला दलहरूबीच सहकार्यमा बनेको सरकार सन्तुलित बजेट निर्माणमा केन्द्रित रहेको जानकारी दिए। उनले सांसदहरूलाई गसिप र हल्लाको पछि नलागी आफ्ना दायित्व र राष्ट्रिय मिसनमा लाग्न निर्देशन दिए।
“हल्लाको पछि लागेर एउटै कुरा पटक–पटक सोधिरहनु आवश्यक छैन। हामीले अब स्थायित्व र प्रगतिको बाटो समात्नुपर्छ,” ओलीले भने।
बैठकमा ओलीले देशभित्रका प्रतिगमनकारी शक्तिहरूले आन्दोलनका नाममा हिंसात्मक र संविधानविरोधी गतिविधिहरू गरिरहेको भन्दै त्यसको दृढ प्रतिकार गर्नुपर्नेमा जोड दिए। उनले यस्ता गतिविधिमा संलग्नहरूलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिका बीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अमेरिकाको तर्फबाट बन्द भइसकेको प्रसंग उठाउँदै नेपालले अब आफ्नै प्रयासबाट विकासको यात्रा अघि बढाउनुपर्ने बताए।
एमालेले अघि सारेको ‘मिशन २०८४’ अभियानप्रति इङ्गित गर्दै उनले पार्टीलाई सशक्त राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न आन्तरिक एकता, आपसी सहकार्य र संगठनात्मक मजबूतीमा ध्यान दिन सांसदहरूलाई सुझाव दिए। साथै, उनले पार्टीका दस्तावेजहरू अध्ययन गरी जनताका समस्या पहिचान गरेर तथ्यगत र मर्यादित ढंगले संसदमा प्रस्तुत हुन आग्रह गरे।
ओलीले निष्कर्षमा भने, “हाम्रो ध्यान अहिले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा हो। हामीले संयम, विवेक र जिम्मेवारीका साथ देश र जनताका पक्षमा अघि बढ्नुपर्छ।”