पर्सा — पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी घटनामा जिल्ला प्रहरी कार्यालय, पर्साले लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी किशोर लम्सालका अनुसार, सहकारीको करिब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा संलग्न रहेको ठहर गर्दै ४१ जनाविरुद्ध ठगी र सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गर्न सिफारिस गरिएको हो।
अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित ३० जना व्यक्तिहरू र ११ वटा संस्था तथा कम्पनीहरूविरुद्ध कारबाहीको लागि राय दिइएको छ। लामिछानेसँगै, पूर्वडीआईजी छविलाल जोशीसमेत मुद्दामा प्रतिवादी बनाइएका छन्।
प्रहरीले रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार रुपैयाँ र छविलाल जोशीविरुद्ध ३ करोड २४ लाख रुपैयाँ बिगो माग दाबी गरिएको उल्लेख गरेको छ। यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी राईसँग १० करोड ८१ लाख र हाल कास्की कारागारमा रहेका कुमार रम्तेलसँग १५ करोड ५३ लाख बिगो माग गरिएको छ।
हाल लामिछाने र जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् भने रम्तेल कास्की कारागारमा छन्। जीबी राई भने घटनापछि विदेश फरार भएका बताइए पनि उनको ठेगाना अझै खुल्न सकेको छैन।
यसअघि पनि रवि लामिछाने, जीबी राई र छविलाल जोशीविरुद्ध विभिन्न सहकारीमा ठगीसम्बन्धी मुद्दाहरू दर्ता भइसकेका छन्। धरौटीमा छुटेका लामिछाने पुनः उच्च अदालत दाङको आदेशपछि कारागार चलान भएका हुन्।