काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरू र सरकारबीच सोमबार राति भएको वार्तामा कुनै ठोस सहमति नजुटेको जनाएको छ। महासंघका अनुसार सरकार ‘दिन तयार’ नहुँदा शिक्षकहरूको मुख्य मागहरू अझै पूरा हुन नसकेका छन्।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले वार्तापछि जानकारी दिँदै भनिन्, “सरकार र शिक्षक महासंघ दुवै पक्षका प्रस्ताव र मागहरूबीच ठोस मिलन नहुँदा सहमति टुंगिन सकेन। विभिन्न विषयमा गहिरो छलफल भए पनि निष्कर्षमा पुग्न सकिएन।”
उनका अनुसार सरकारले प्रस्तुत गरेका प्रस्तावबारे आन्दोलनरत शिक्षकहरूसँग थप आन्तरिक छलफल गरेपछि मात्रै निर्णय लिने सहमति भएको छ। “सिंहदरबारमा भएको छलफलपछि हामीले आन्तरिक बैठक बसेर निर्णय गर्ने सहमति गरेका छौँ,” पराजुलीले भनिन्। आजै शिक्षक संगठनहरूको बैठक बसेर अगाडि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ।
यसैबीच, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको स्पष्ट पारेका छन्। “सरकारले मागहरू सम्बोधन गर्न ढिलाइ गरिरहेकाले हामी आफ्नो आन्दोलन थप सशक्त बनाउनेछौँ,” सुवेदीले भने। “संघर्ष बिना हाम्रो माग पूरा हुँदैन, त्यसैले आन्दोलनलाई अझ बलियो बनाउन सबै शिक्षकहरू एकजुट हुनुपर्ने बेला आएको छ।”
सरकारी पक्षबाट भने आन्दोलनरत शिक्षकहरूसँग सहमति नजिकिएको दाबी गरिएको थियो। तर, शिक्षक महासंघले भने वार्ताबाट ठोस सहमति नभएको भन्दै आन्दोलन यथावत् रहने जनाएको छ।