काठमाडौं — संघीय संसद बैठकमा विभिन्न दलका सांसदहरुले आन्दोलनरत शिक्षकका माग तुरुन्त सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरुले शिक्षकहरू २८ दिनदेखि आन्दोलनमा रहेको अवस्थामा पनि सरकारले चासो नदेखाएको भन्दै आलोचना गरे।
बैठक सुरु भएपछि विपक्षी सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। पाण्डेले शिक्षक र चिकित्सक आन्दोलनलाई लिएर आफूले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनुपर्ने बताए।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सबै पार्टीका समर्थक शिक्षकहरू आन्दोलनमा रहेको भन्दै उनीहरूको माग सम्बोधन गरी चाँडै विद्यालय फर्काउन आग्रह गरे। उनले शिक्षामन्त्रीसँग जवाफ माग्दै राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको र यसले आर्थिक विश्लेषणमा असर पार्ने बताए।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले पनि शिक्षक आन्दोलनको गाम्भीर्य देखाउँदै समाधानमा सरकार गम्भीर हुनुपर्ने बताइन्। सोही पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार नागरिकको आवाज नसुन्ने प्रवृत्तिमा लागेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका नेता रविन्द्र मिश्रलाई पक्राउ गरेर थुनिएको घटनाको विरोध गरे। उनले सुशासनको कुरा गर्ने सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण नखुलाएको भन्दै प्रश्न उठाए।
राप्रपाकी सांसद रोशन कार्कीले पनि आन्दोलनकारीको माग बेवास्ता गरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्। सहकारी पीडित महिलाले अर्धनग्न प्रदर्शन गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको भन्दै उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरिन्।
सरकारले आन्दोलनरत पक्षसँग संवाद गरी समाधान खोज्नुपर्ने सांसदहरूको जोड छ।