२९ दिनदेखि जारी रहेको शिक्षक आन्दोलन सरकार र नेपाल शिक्षक महासंघबीच नौबुँदे सहमतिपछि स्थगित भएको छ। बुधबार शिक्षामन्त्री रघुजी पन्त र महासंघ प्रतिनिधिबीच संवादपछि सहमति जुटेको हो। मन्त्रिपरिषद्ले सो सहमतिको कार्यान्वयन सुनिश्चित गर्ने निर्णय पनि सोही दिनको साँझ गरेको छ।
नौबुँदे सहमति यस्तो छ:
१. स्वास्थ्य उपचारमा सहुलियत — सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीले निजामती अस्पताल, काठमाडौंमा उपचार सहुलियत पाउने व्यवस्था हुनेछ।
२. बिरामी बिदा भुक्तानी — अस्थायी प्रकृतिका शिक्षकहरूले संचित बिरामी बिदाको सुविधा पाउने छन्, र सेवाबाट अलग हुँदा सोबापतको रकम एकमुष्ट रूपमा प्रदान गरिनेछ।
३. बालविकास र कर्मचारीको पारिश्रमिक — प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले निर्धारण गरेअनुसार हुने व्यवस्था गरिनेछ।
४. ग्रेड सुधार — २०८२/८३ आर्थिक वर्षदेखि प्राथमिकदेखि माध्यमिकसम्मका स्थायी शिक्षकहरूको ग्रेड निजामती सेवासरह कायम गरिनेछ।
५. दुर्गम भत्ता — स्थायी तथा अस्थायी कोटाका शिक्षकहरूले प्रचलित कानुनअनुसार दुर्गम भत्ता प्राप्त गर्नेछन्।
६. सामाजिक सुरक्षा कोषमा समावेश — सामुदायिक विद्यालयका निजी स्रोतबाट नियोजित शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न कानुनी व्यवस्था गरिनेछ।
७. मर्यादाक्रममा समावेश — शिक्षकलाई नेपाल सरकारको मर्यादाक्रमको सूचीमा समावेश गरिनेछ।
८. निःशुल्क उपचारको व्यवस्था — आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, पत्रकार र कर्मचारीको उपचार सरकारी अस्पतालमा निःशुल्क गरिनेछ।
९. तलब र ग्रेड सुधार — निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ।
आठ अर्ब रुपैयाँको अतिरिक्त बोझ
शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई वार्षिक आठ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय दायित्व थपिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्तले जानकारी दिए। अर्थ मन्त्रालयले यसमा सहमति जनाइसकेको छ।
विद्यालय शिक्षा विधेयक पारित गर्न दलहरूको प्रतिबद्धता
विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने विषयमा सत्तारूढ दलहरूबीच सहमति भएको छ। कांग्रेस, एमाले र समितिका प्रमुख नेताहरूले विधेयक पारित गर्न संयुक्त प्रतिबद्धता जनाएका छन्। यसमा प्रमुख सचेतक श्यामकुमार घिमिरे (कांग्रेस), महेश बर्तौला (एमाले) र समिति सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका छन्।
शिक्षकहरू विद्यालय फर्किने, भर्ना अभियान सुरु हुने
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबारदेखि सबै शिक्षक विद्यालय फर्किने र भर्ना अभियान सुरु हुने जानकारी दिए। आन्दोलन अन्त्य भएसँगै शिक्षा प्रणाली पुनः सामान्यतर्फ फर्कने भएको छ।
गृहमन्त्रीको प्रशंसा
गृहमन्त्री रमेश लेखकले शिक्षक आन्दोलनमा देखिएको संयमताको प्रशंसा गरे। उनले सडकमा शिक्षकहरूले दिएको सन्देश उल्लेखनीय रहेको बताए। आन्दोलनमा कुनै अभद्र व्यवहार नगरेको भन्दै शिक्षकहरूको अनुशासनको सराहना गरे।
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा
आन्दोलनको असरले पछि सारिएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि नै सञ्चालन हुने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए। यसअघि वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण सारिएको थियो।