देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसै कारण बिहानैदेखि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली मौसम रहेको छ।
बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। गोरखा जिल्लाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौंमा समेत बिहानै छिटफुट वर्षा देखिएको छ।
दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी भू-भागमा केही स्थानहरूमा र अन्यत्र एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, हिमाली क्षेत्रमा केही ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसम विज्ञहरूले बताएका छन्।
रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। यद्यपि, पहाडी क्षेत्रका एक-दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।