अमेरिका र युक्रेनले दुर्लभ खनिजको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले नयाँ समझदारी गरेका छन्। लामो समयदेखि चर्चामा रहेको यो सम्झौताले युक्रेनका महत्वपूर्ण खनिज स्रोतमा अमेरिकी लगानीकर्ताहरूको पहुँच सुनिश्चित गर्नेछ।
अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा ‘रि-कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ स्थापनाको जानकारी दिइएको छ। दुई पक्षबीच केही संशोधनसहित सहमति कायम भएपछि उक्त कोष गठन भएको हो। विज्ञप्तिअनुसार, सम्झौता युक्रेनको पुनर्निर्माण, लगानी प्रवर्द्धन र दुवै देशको दक्षता र स्रोतको उपयोगमा आधारित हुनेछ।
यस सम्झौताको प्रारम्भिक रुप फेब्रुअरी महिनामै तय गरिएको भए पनि त्यसबेलाको कूटनीतिक असमझदारीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। अब भने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा औपचारिक हस्ताक्षर गरेसँगै सहकार्य औपचारिक रुपमा सुरु भएको हो।
सम्झौताले युक्रेनको खनिज स्रोतलाई अन्तर्राष्ट्रिय लगानीको प्रवाहमा ल्याउने तथा देशको पुनर्निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।