काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग हालै भएको सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको तयारी थालेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार, परिषद् हाल आन्तरिक छलफलमा जुटिरहेको छ र आजै औपचारिक रुपमा आन्दोलनको घोषणा गरिने तयारी भइरहेको छ।
“हामी अहिले बैठकमा छौं। आन्दोलनको तयारी भइरहेको छ,” अध्यक्ष तिवारीले जानकारी दिए।
परिषद्ले नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारीका विषय उपेक्षा गरिएको आरोप लगाएको छ। परिषद्का अनुसार कर्मचारीका हकहितसम्बन्धी विषय सहमतिमा समेटिनुपर्ने थियो, तर त्यस्तो नभएकोले आन्दोलन अपरिहार्य भएको हो।
सहमतिको क्रममा कर्मचारीका सेवा सुविधा वृद्धि गर्ने भनिएपनि त्यसको विवरण स्पष्ट नभएको भन्दै परिषद्ले गुनासो जनाएको छ। परिषद्को माग छ— सरकारले सेवासुविधा वृद्धिसँग सम्बन्धित रकम र कार्यान्वयनको ढाँचा स्पष्ट रुपमा सार्वजनिक गर्नुपर्छ।
आजै परिषद् र शिक्षक महासंघका पदाधिकारीबीच कडा भनाभनसमेत भएको थियो। सरकारसँग बुधबार सहमति भएको अवसरमा महासंघले काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा आयोजना गर्न लागेको समापन तथा शुभकामना कार्यक्रम विद्यालय कर्मचारीको असन्तुष्टिपछि स्थगित गरिएको हो।
कार्यक्रम स्थलमै परिषद्का कर्मचारीले नाराबाजी गर्दै महासंघ नेतृत्वप्रति असहमति जनाएका थिए। उनीहरूले आफूहरूको मागलाई बेवास्ता गरिएको भन्दै असन्तोष पोखेका छन्।
परिषद्का पदाधिकारीहरूले अब आफ्ना अधिकार र माग सुनिश्चित गर्नका लागि सडकमा उत्रनुको विकल्प नरहेको बताएका छन्। आन्दोलनका कार्यक्रमहरू आज बेलुकासम्म सार्वजनिक गरिने जनाइएको छ।