चौथाइवालेको नेपाल भ्रमण: आतंकवादविरुद्ध क्षेत्रीय समर्थन सुनिश्चित गर्ने प्रयास
नेपाली नेताहरूसँग उच्चस्तरीय भेटघाटमा केन्द्रित तीन दिने राजनीतिक कूटनीतिक दौडधुप
नेपाल आगमनपछि चौथाइवालेले राजनीतिक दलका प्रमुख नेता, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ र प्रतिपक्षी दलका प्रभावशाली नेतासँग व्यापक भेटघाट गरेका छन्। भ्रमणको पहिलो दिन बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटबाट सुरु भएको उनको कूटनीतिक दौडधुप बिहीबार साँझसम्म जारी रह्यो। बुधबारै उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कांग्रेस नेता डा. शेखर कोइरालासँग डिनर बैठक गरेका थिए।
बिहीबारको दिन राजनीतिक भेटघाटमा झनै व्यस्त देखिए। चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री डा. प्रकाशशरण महत, र उदयशमशेर राणासँग पनि संवाद गरे। यस्तै, माओवादी नेता जनार्दन शर्मा पनि उनीसँग अलग्गै भेट गरेका छन्।
चौथाइवालेको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अन्य सत्ता गठबन्धनका वरिष्ठ नेता, प्रमुख प्रतिपक्षी नेताहरू तथा मधेसी मोर्चाका नेताहरूसँग समेत भेट हुने कार्यतालिका रहेको जनाइएको छ।
स्रोतहरूका अनुसार चौथाइवालेको भ्रमणको मूल उद्देश्य आतंकवादविरुद्ध भारतको धारणा प्रति नेपालको निरन्तर समर्थन सुनिश्चित गर्नु हो। हालै पाकिस्तानसँगको सम्बन्धमा भारतले लिएको कडा कूटनीतिक र प्रतिरोधात्मक नीति तथा आतंकवादको मुद्दामा क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राख्दै चौथाइवालेले नेपालका नेताहरूसँग संवाद गर्दैछन्। भारत–पाकिस्तान सम्बन्धमा बढ्दो तनावका बीच दक्षिण एसियाली मुलुकहरूको एकता र समर्थन भारतका लागि रणनीतिक रूपमा महत्वपूर्ण बनेको छ।
यस भेटघाटमार्फत चौथाइवालेले नेपालको राजनीतिक नेतृत्वसँग भरोसा र सहकार्यको सम्बन्ध थप सुदृढ बनाउने संकेत दिएका छन्। नेपालको शान्तिपूर्ण छवि र भारतसँगको ऐतिहासिक, धार्मिक र राजनीतिक सम्बन्धलाई दृष्टिगत गर्दै भारतले नेपाललाई आतंकवादविरुद्धको साझा अभियानमा पनि नजिक राख्न खोजेको विश्लेषकहरूको भनाइ छ।
नेपालका नेताहरूले पनि आतंकरहित दक्षिण एशियाका लागि सहकार्य र संवाद आवश्यक भएको धारणा राखेको जनाइएको छ। भ्रमणका बाँकी दिनहरूमा चौथाइवालेको गतिविधिले नेपाल–भारत सम्बन्धको नयाँ आयाम थप्ने सम्भावना पनि देखिन्छ।