राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शुक्रबार भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका सम्भावनाहरूबारे सकारात्मक छलफल भएको थियो।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र अजरबैजानबीचको सम्बन्धमा हालै देखिएको सकारात्मक प्रगतिप्रति सन्तोष व्यक्त गरे। उनले दुवै देशले परस्पर हितका क्षेत्रहरू पहिचान गरी संयुक्त रूपमा कार्य गर्दै जानु आवश्यक रहेकोमा जोड दिए। साथै, कोप–२९ मा आफ्नो सहभागिता स्मरण गर्दै उनले वातावरण र दिगो विकासजस्ता विषयमा पनि दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए।
उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए। उनले पछिल्ला ३० वर्षमा कुनै पनि समझदारीपत्रमा हस्ताक्षर नभए पनि हाल दुवै देशबीच एक वा बढी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेकाले चाँडै ठोस सहमति बन्ने विश्वास व्यक्त गरे।
यस भेटले नेपाल–अजरबैजान सम्बन्धलाई संस्थागत गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ व्यापक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।