भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि भारतस्थित नेपाली राजदूतावासले घटनालाई गम्भीर रूपमा लिँदै छानबिनको माग गरेको छ।
राजधानी भुवनेश्वरस्थित केआईआईटीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी दूतावासलाई बिहीबार प्राप्त भएको हो।
घटनापछि नेपाली राजदूतावासले तुरुन्तै शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारी, भारतको विदेश मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी घटनाको प्रारम्भिक विवरण संकलन गरेको जनाएको छ।
राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी र प्रदेशका प्रमुख सचिवसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र छानबिन सुनिश्चित गर्न आग्रह गरेका छन्।
राजदूतावासद्वारा शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनाबारे जानकारी प्राप्त हुनासाथ यस राजदूतावासले सम्बन्धित सबै पक्षसँग सम्पर्क गरी नेपाली विद्यार्थीको सुरक्षामा कुनै सम्झौता नगरिने स्पष्ट पारेको छ।”
राजदूतावासले भारतको केन्द्रीय सरकार, उडिसा राज्य सरकार तथा केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जानकारी दिएको छ। साथै मृतक विद्यार्थीकी परिवारसँग नियमित सम्पर्कमा रही आवश्यक सहयोग प्रदान गरिरहेको पनि बताइएको छ।
घटनासम्बन्धी थप जानकारी र अनुसन्धान प्रतिवेदन सार्वजनिक भइनसकेको अवस्थामा, राजदूतावासले घटनाको गम्भीरता बुझी छानबिन प्रक्रिया पारदर्शी र निष्पक्ष होस् भनेर सम्बन्धित निकायहरूमाथि जोड दिएको छ।
यस घटनाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा र मानसिक स्वास्थ्यबारे पनि गम्भीर प्रश्न उठाएको छ।