काठमाडौं, बैशाख २१ — अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अन्तर्गत सन् २०२६ का लागि आवेदन दिने व्यक्तिहरूका लागि प्रतीक्षित नतिजा सार्वजनिक भएको छ। न्युयोर्क समयअनुसार मे ४ तारिख मध्यान्ह १२ बजे (नेपाली समयअनुसार राति ९:४५ बजेपछि) अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोले आधिकारिक वेबसाइटमार्फत नतिजा प्रकाशित गरेको हो।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी फारम भरेका आवेदकहरूले अब आफ्नो आवेदन चयन भएको/नभएको अनलाइनमार्फत सहजै हेर्न सक्नेछन्।
यसरी हेर्न सकिन्छ नतिजा:
डिभी नतिजा हेर्नका लागि निम्न जानकारी अनिवार्य रूपमा आवश्यक हुन्छ:
• कन्फर्मेसन नम्बर (Confirmation Number)
• थर (Last Name/Family Name)
• जन्मेको वर्ष (Year of Birth)
यी विवरणहरू सही रूपमा प्रविष्ट गरेपछि, तपाईंको आवेदन छानिएको हो वा होइन भन्ने जानकारी देखिनेछ। यदि आवेदन छानिएको हो भने थप प्रक्रिया कसरी अघि बढाउने भन्ने विस्तृत निर्देशन पनि त्यहीँबाट प्राप्त गर्न सकिन्छ।
भिसा प्रक्रिया कहिलेदेखि सुरु हुन्छ?
डिभी छनोटमा परेका व्यक्तिहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न सक्नेछन्। यो प्रक्रिया सन् २०२६ को सेप्टेम्बर ३० भित्रै सम्पन्न गर्नुपर्नेछ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिनेछ।
महत्त्वपूर्ण सूचना:
• कन्फर्मेसन नम्बर नभएसम्म नतिजा जाँच गर्न सकिँदैन।
• विदेश मन्त्रालयले डिभी विजेताहरूलाई कुनै इमेल वा पत्रमार्फत व्यक्तिगत सूचना नपठाउने भएकाले ठगीबाट सतर्क रहन सुझाव दिइएको छ।
• आवेदकहरूले कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न भनिएको छ।
अधिकृत वेबसाइटमार्फत मात्र नतिजा हेर्न र प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ।