रौतहट — पूर्व–पश्चिम लोकराजमार्गको रौतहट खण्डमा आइतबार बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोरीको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिका–४ स्थित लचका नजिक भएको उक्त दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब सवा ६ बजे हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ गइरहेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बलिराम सहनीलाई तत्काल चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर पुर्याइएको थियो, जहाँ उपचारको क्रममा साढे ७ बजेतिर उनको मृत्यु भएको हो।
त्यस्तै, छोरी उर्मिला देवीलाई थप उपचारका लागि बाराको एलएस न्युरो अस्पताल लगिएको थियो। तर, चिकित्सकले करिब ९ बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न कार चालक ४३ वर्षीय कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का स्थायी बासिन्दा हुन्। हाल पोख्रेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल चन्द्रनिगाहपुर बजारबाट करिब ६ किलोमिटर पश्चिमतर्फ पर्छ। दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।