काठमाडौं, २३ वैशाख – संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे सुरु हुने तालिका छ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ। राष्ट्रपतिबाट प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हिजोदेखि नै छलफल सुरु भइसकेको छ र आज पनि त्यसैको निरन्तरता रहनेछ।
यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। आजको बैठकमा छलफलपछि सुझाव प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाइने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत साता संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही दस्तावेजलाई आधार मानेर अहिले संसद् सदस्यहरूले विभिन्न पक्षबारे आफ्ना धारणा राख्दै आएका छन्।
नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सांसदहरूले आफ्ना सुझाव राख्नेछन्, जुन सुझावलाई आगामी बजेट निर्माणका क्रममा समेत विचार गरिने सरकारको भनाइ छ।