धनकुटा, वैशाख २३ – कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सोमबार दिउँसो भएको एक यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस करिब ५० मिटर तल खस्दा बस चालक र दुई यात्रुको ज्यान गएको हो। मृतकमध्ये बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन्।
प्रहरीका अनुसार, राईको घटनास्थलमै मृत्यु भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–६ का ६० वर्षीय हंशबहादुर राई र भोजपुर नगरपालिका–११ की ६० वर्षीया देवी विक रहेका छन्।
अन्य घाइतेहरू यसप्रकार छन्:
• धरान उपमहानगरपालिका–१३ का ११ वर्षीय अनमोल तामाङ – टाउकोमा चोट, अवस्था सामान्य
• बराहक्षेत्र नगरपालिका–२ का ४८ वर्षीय कृष्ण राउत – देब्रे हात भाँचिएको, अवस्था सामान्य
• षडानन्द नगरपालिका–१३ का २० वर्षीय सुर्यमणी तामाङ – टाउकोमा चोट, अवस्था सामान्य
• पौवादुम्मा गापा–३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा – टाउकोमा चोट, अवस्था सामान्य
• भोजपुर नगरपालिका–११ की २४ वर्षीया सविना बराईली – हात भाँचिएको, अवस्था सामान्य
• षडानन्दा नगरपालिका–११ की ५१ वर्षीया पूर्णमाया तामाङ – अवस्था सामान्य
• इटहरी उपमहानगरपालिका–४ का १७ वर्षीय आयुष राई – हात र ढाडमा चोट, अवस्था सामान्य
• धनकुटा नगरपालिका–६ का ३४ वर्षीय धनकुमार विक – टाउकोमा चोट, अवस्था सामान्य
• साँगुरीगढी गाउँपालिका–६ की ६० वर्षीया दीर्घमाया राई – टाउकोमा चोट, अवस्था सामान्य
दुर्घटनाको कारण हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो।