काठमाडौं — नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा पूर्वअध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ। नेपाल सरकारको महान्यायाधिवक्ताको कार्यालयले हालै उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउने निर्णय गरेको हो।
बालमन्दिरकी तत्कालीन अध्यक्ष र सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह मुख्य अभियुक्तका रूपमा छन्। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उनीसहित १७ जनामाथि अभियोजनको रायसहित फाइल काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको छ।
“बालमन्दिरको जग्गा सम्बन्धी प्रकरणमा मुद्दा चलाउने निर्णय भइसकेको छ। निर्णय जिल्ला कार्यालयमा पुगीसकेको छ,” प्रवक्ता दाहालले भने। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, “१७ जनामाथि अभियोग लगाउने तयारी भइरहेको छ। सबै विवरण केलाइरहेका छौं, सम्भवतः भोलिसम्म मुद्दा दर्ता हुनेछ।”
उनीहरूविरुद्ध नेपाल बाल संगठनको सम्पत्ति सस्तो मूल्यमा सम्झौता गरेर संस्थालाई आर्थिक क्षति पुर्याएको अभियोग छ। उजुरी अनुसार, २०४९ सालदेखि २०७२ सालसम्म विभिन्न समयमा बालमन्दिरको बहुमूल्य सम्पत्ति सस्तो भाडामा वा कम मूल्यमा सम्झौता गरिएको थियो।
यसअघि पनि २०८० साल वैशाखमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर अनुसन्धानपछि काठमाडौं सरकारी वकिल कार्यालयले मुद्दा दायर नगर्ने निर्णय गरेको थियो। त्यसपछिको पुनरावलोकनपछि उच्च सरकारी वकिल कार्यालय र अन्ततः महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।
अबको प्रक्रियाअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा औपचारिकरूपमा अभियोगपत्र दर्ता गर्नेछ, जसपछि कानुनी प्रक्रिया अघि बढ्नेछ।