भारतले गए राति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर क्षेत्रमा सैन्य कारवाही गर्दै ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। यस हवाई कारवाहीमा परी २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।
पाकिस्तानी पक्षका अनुसार, आक्रमण बुधबार बिहान करिब १ बजेपछि भएको थियो। भारतीय वायु सेनाले विभिन्न स्थानमा लक्षित हवाई प्रहार गरेको दाबी गरिएको छ। आक्रमणपछि पाकिस्तानी सेनाले जवाफी कारवाही गर्दै पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी पनि गरेको छ, यद्यपि भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
भारतले उक्त कारवाहीलाई ‘आत्मरक्षाको अधिकार’ अन्तर्गत भन्दै उचित ठहर्याएको छ। केही दिनअघि भारतीय कश्मीरमा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो। भारतीय सरकारी स्रोतले उक्त घटनामा संलग्न आतंकवादीहरुलाई पाकिस्तानबाट सहयोग प्राप्त भएको आरोप लगाउँदै ‘आतंकवादी सेल्टर’माथि लक्षित हमला गरिएको जनाएका छन्।
हाल क्षेत्रीय सुरक्षा स्थिति थप संवेदनशील बन्दै गएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै पक्षलाई आह्वान गर्न थालेका छन्।