काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा चाँडै नियुक्ति गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्र बैंकको नेतृत्वविहीन अवस्थाले आर्थिक क्षेत्रमा अन्योलता बढाएको बताएका छन्।
खतिवडाले धितोपत्र बोर्डसँग सम्बन्धित एक गम्भीर आरोप पनि सार्वजनिक गरे। उनका अनुसार आईपीओ (प्रथम सार्वजनिक निष्कासन) स्वीकृतिको सन्दर्भमा धितोपत्र बोर्डका अध्यक्षले कमीशन माग गर्न लगाएको विषय बाहिर आएको छ। उनले सरकारसँग तत्काल स्पष्ट र गम्भीर जवाफ दिन माग गरे।
“धितोपत्र बोर्डको अध्यक्षको कमीशन प्रकरण बाहिर आएको छ, यसबारे सरकार जिम्मेवार भएर जवाफ दिनुपर्छ,” सांसद खतिवडाले भने।
अन्तर्राष्ट्रिय विषयमा समेत टिप्पणी गर्दै उनले भारत–पाकिस्तानबीचको पछिल्लो तनावप्रति चासो व्यक्त गरे। खतिवडाले सम्भावित संकटको प्रभावलाई ध्यानमा राख्दै सरकार सतर्क र तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याए।
“आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देश भए पनि साथ दिनुपर्छ,” उनले थपे।
सांसद खतिवडाले आर्थिक पारदर्शिता र सुशासनको पक्षमा जोड दिँदै नियामक निकायहरूमा जिम्मेवार र विश्वसनीय नेतृत्व आवश्यक भएको स्पष्ट पारे।