काठमाडौं – गृहमन्त्री रमेश लेखकले हालै चैत १५ गते तीनकुनेमा भएको घटनाबारे सरकारले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त घटनालाई ‘विध्वंसात्मक र संविधान विरोधी’ भन्दै आलोचना गरे।
उनले भने, “त्यो घटना वर्तमान व्यवस्था र संविधानका विरुद्धमा लक्षित थियो। सरकारले कुनै पूर्वाग्रह नराखी निष्पक्ष ढंगले अनुसन्धान अघि बढाइरहेको छ।”
गृहमन्त्री लेखकले सरकारको प्राथमिकता शान्ति, सुरक्षा र नागरिक अधिकार सुनिश्चित गर्नु भएको स्पष्ट पारे। “संविधान विरोधी तथा अराजक गतिविधि नियन्त्रण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध छ,” उनले जोड दिए।
उनले अप्रत्यक्ष रूपमा राजावादी धारलाई लक्षित गर्दै संविधानविपरीतका गतिविधिहरू नगर्न आग्रह गरे। “संविधानले निषेध गरेका कार्यहरू सह्य हुँदैनन्,” उनले चेतावनी स्वरूप भने।
यहीबीच, राजावादी समूहले जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ। यसले राजधानी लगायत देशभर राजनीतिक तापक्रम चुलिन सक्ने आँकलन गरिएको छ। गृहमन्त्रीले शान्ति र स्थायित्वमा खलल पर्ने कुनै पनि गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट संकेत दिएका छन्।