काठमाडौं – भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै दुवै छिमेकी राष्ट्रबीच संवाद र संयमको मार्ग रोज्न आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति आपत्ति जनाएको छ।
विज्ञप्तिमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी आक्रमणप्रति नेपालले पुनः निन्दा व्यक्त गरेको छ। सो घटनामा एक नेपाली नागरिकले पनि ज्यान गुमाएका थिए।
नेपालले उक्त आक्रमणलाई अमानवीय र निन्दनीय ठहर गर्दै आतंकवादको सबै स्वरूप र अभिव्यक्तिको विरोधमा आफ्नो अडान दोहोर्याएको छ। “नेपाल सधैं आतंकवादविरुद्धको साझा अन्तर्राष्ट्रिय प्रयासमा दृढतापूर्वक उभिने पक्षमा छ,” विज्ञप्तिमा उल्लेख छ।
तर, पछिल्लो समयमा भारतद्वारा पाकिस्तानमाथि गरिएको भनिएको मिसाइल आक्रमणबारे विज्ञप्तिमा प्रत्यक्ष उल्लेख नगरिएको देखिन्छ। नेपालले स्पष्ट रूपमा कसैको पक्ष नलिँदै सन्तुलित धारणा सार्वजनिक गरेको छ।
साथै, नेपालले आफ्नो भूभाग छिमेकी राष्ट्रहरू विरुद्ध प्रयोग हुन नदिने पुरानै नीतिको पुनः दोहोर्याउदै भनिएको छ, “आफ्नो भूमिमा कुनै पनि दुस्मन शक्ति वा तत्वलाई छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न दिने छैनौं।”

नेपालले क्षेत्रीय तनाव चर्कँदै जानु विश्वमै असर पार्न सक्ने भन्दै संयमित कूटनीतिक पहलबाट समाधान खोजिनुुपर्नेमा जोड दिएको छ। सरकारले क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्तिका लागि सकारात्मक भूमिका निर्वाह गर्ने दृढता पनि प्रकट गरेको छ।