काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढेको तनावले नेपालमा इन्धन अभावको आशंका उठिरहँदा नेपाल आयल निगमले अहिलेका लागि कुनै संकट नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, देशमा अहिलेको अवस्थामा कम्तीमा एक सातादेखि १२ दिनसम्म पुग्ने पर्याप्त इन्धन मौज्दात छ।
उनले भने, “छिमेकी राष्ट्रबीच तनाव बढेको हो, तर अझै औपचारिक रूपमा युद्धको घोषणा भएको छैन। त्यसैले इन्धन आपूर्तिमा अवरोध हुने कुनै संकेत देखिएको छैन।”
निगमको तथ्यांकअनुसार हाल देशभर २८ हजार किलोलिटर पेट्रोल र ६० हजार किलोलिटर डिजेलको भण्डारण छ। यस्तै, ५९ वटा ग्यास उद्योगहरूमा करिब १० हजार मेट्रिकटन एलपी ग्यास मौज्दात रहेको जानकारी दिइएको छ।
ठाकुरका अनुसार, नेपालको दैनिक पेट्रोल खपत करीब २,२५० किलोलिटर रहेको छ भने डिजेलको खपत ४,००० देखि ४,५०० किलोलिटर बीचमा रहेको छ। यो आधारमा पेट्रोल सात दिन र डिजेल करिब १२ दिनसम्म सहज रूपमा चल्न सक्ने स्थिति छ।
यसैबीच, भारतमा इन्धन अभाव हुने भन्दै केही सञ्चारमाध्यममा आएका खबरप्रति पनि भारतीय आयल कर्पोरेसनले आधिकारिक रूपमा खण्डन गर्दै त्यो हल्ला मात्रै भएको स्पष्ट पारेको छ। नेपालले भारतकै भारतीय आयल कर्पोरेसनमार्फत इन्धन आयात गर्दै आएको छ।
नेपाल आयल निगमले आम उपभोक्तालाई अफवाहमा नपर्न अनुरोध गर्दै कुनै आपतकालीन परिस्थिति भएमा तत्काल निर्णय गर्नसक्ने तयारी पनि रहेको जनाएको छ।
इन्धन आपूर्तिबारे निगमको यो स्पष्टिकरणले हालका लागि आम उपभोक्तालाई केही राहत दिएको देखिन्छ। यद्यपि, क्षेत्रीय राजनीति थप जटिल बन्दै गएमा दीर्घकालीन रणनीति आवश्यक पर्ने विश्लेषकहरूको भनाइ छ।