काठमाडौं, वैशाख २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले वन संरक्षण र वैज्ञानिक व्यवस्थापनको नाममा भइरहेको सालघारी फँडानीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल रोकिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेकोमा जोड दिएका हुन्।
उनले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायती शासनको सुदृढीकरणका लागि २०३६ सालमा सालघारी फँडानी गरेर जनतामा बसोबास गराएको घटनालाई स्मरण गर्दै त्यस्तो अभ्यास आज दोहोरिन नहुने बताए। “वन क्षेत्रमै सालघारी फँडेर जनतालाई राख्ने काम, त्यो त २०३६ सालमै भएको हो। अहिले वैज्ञानिक वन व्यवस्थापन भनेर फेरि त्यही ढंगले फँडानी गर्ने काम उचित होइन,” उनले भने।
प्रधानमन्त्री ओलीले वन क्षेत्रको सीमा अब खासै विस्तार गर्न नसकिने बताए। त्यसैले वनको उपयोगमा सघनता आवश्यक रहेको र त्यसका लागि सघन वन व्यवस्थापन तथा कृषि वन प्रणालीतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
उनले ग्रामीण क्षेत्रका वन क्षेत्रमा पर्ने खाली जमिनमा कृषक समूह बनाएर फलफूलका बगैंचाहरू, आँपघारीजस्ता कृषि वनको विकास गर्न सकिने सुझाव पनि दिए। “खाली जमिनलाई वनकै रूपमा राख्ने मात्र होइन, उपयोग पनि गर्नुपर्छ। फलफूल उत्पादन गरेर स्थानीयलाई आयआर्जनको माध्यम बनाऔं,” प्रधानमन्त्रीको भनाइ थियो।
कार्यक्रममा उनले राणाकालीन समयमा सिंहदरबार परिसरमा रोपिएको आँपको बोट अहिले पनि फलिरहेको उदाहरण दिँदै दीर्घकालीन सोचका साथ वन उपयोगको आवश्यकता औँल्याए।
प्रधानमन्त्रीको धारणा अनुसार, वन संरक्षणको नाममा गरिने असन्तुलित तथा अवैज्ञानिक फँडानीले वातावरणीय संकट निम्त्याउन सक्ने भएकाले त्यसप्रति सशक्त निगरानी र जनचेतना आवश्यक छ।