काठमाडौं, बैशाख २८ — संघीय संसद्को प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। ती संशोधनहरू बहुमतले अस्वीकृत भएपछि मूल नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरिएको थियो, जुन बहुमतले पारित भएको हो।
सरकारको तर्फबाट राष्ट्रपती रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा समावेश प्राथमिकताहरूमा पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि सुधार, सामाजिक सुरक्षाको विस्तार र समावेशी आर्थिक वृद्धि जस्ता विषयहरूलाई जोड दिइएको छ।
यो नीति तथा कार्यक्रम अब कार्यान्वयन चरणमा जानेछ, जसअनुसार आगामी वर्षका योजनाहरू तय हुनेछन्।