भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौतालगत्तै भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गर्दै पछिल्लो सैन्य कारबाहीबारे विस्तृत जानकारी दिएको छ। भारतीय सेनाको तर्फबाट डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (DGMO) लेफ्टिनेन्ट जनरल राजीव घईले ‘अपरेसन सिन्दूर’ का उपलब्धिहरू सार्वजनिक गरे।
पत्रकार सम्मेलनमा भारतीय स्थलसेनाका घईसँगै, वायुसेनाबाट एयर मार्शल ए.के. भारती, नौसेनाबाट भाइस एडमिरल ए.एन. प्रमोद र मेजर जनरल एस.एस. शारदाले पनि सहभागिता जनाएका थिए।
लेफ्टिनेन्ट जनरल घईका अनुसार, ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतीय सुरक्षाबलले नौ स्थानमा आतंककारीहरू लुकेका स्थानमा लक्षित आक्रमण गरेका थिए। ती कारबाहीहरूमा १०० भन्दा बढी आतंककारी मारिएको र तीमध्ये केही उच्च मूल्यका आतङ्ककारीहरू समेत रहेको उनले बताए।
मारिएका आतङ्ककारीहरूमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद रहेका छन्, जसको संलग्नता सन् १९९९ को आईसी-८१४ अपहरण र पुलवामा हमलामा रहेको घईले बताए।
सेनाका अनुसार, भारतको सैन्य कारबाहीपछि पाकिस्तानबाट नियन्त्रण रेखा (LoC) उल्लंघन गरिएको थियो। त्यस प्रतिक्रियालाई घईले “आतंकित र अव्यवस्थित प्रतिक्रिया” भन्दै स्पष्ट पारे। पाकिस्तानको आक्रमणमा धेरैजसो नागरिक क्षेत्र, गाउँहरू र धार्मिक स्थलहरू विशेषगरी गुरुद्वाराहरू निशानामा परेका थिए।
यस हमलाका कारण आम नागरिकको ठूलो क्षति भएको र थुप्रै निर्दोष व्यक्तिहरूले ज्यान गुमाएको घईले दुःख व्यक्त गर्दै बताए।
भारतीय सेनाले स्पष्ट रूपमा भनेको छ कि यस्ता कारबाहीहरू आतंकवादको समाप्तिको लागि आवश्यक छन् र देशको सुरक्षाको लागि कुनै सम्झौता गरिँदैन।