विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरू—अमेरिका र चीन—बीच व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको छ। जेनेभामा सम्पन्न वार्तापछि अमेरिकी सरकारका उच्च अधिकारीहरूले सहमतिको विषयमा जानकारी दिएका हुन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिका र चीनबीच व्यापारसम्बन्धी वार्तामा उत्साहजनक प्रगति भएको छ। यस सम्झौताको औपचारिक विवरण भोलि सार्वजनिक गरिनेछ।”
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौताको प्रगति प्रति सन्तोष व्यक्त गर्दै भने, “हामीले महत्वपूर्ण मोडमा सम्झौता अघि बढाएका छौं। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसबारे जानकारी दिइसकिएको छ।”
अमेरिकी व्यापार प्रतिनिधिका राजदूत जेमिसन ग्रीरलले पछिल्ला दुई दिन वार्ता निकै रचनात्मक भएको उल्लेख गरे। “हामीले अपेक्षाभन्दा छिटो सहमतिको बिन्दु पहिचान गर्न सकेका छौं। यसले देखाउँछ कि अमेरिका र चीनबीचका व्यापारिक मतभेदहरू गम्भीर भए पनि समाधान नहुने खालका छैनन्,” ग्रीरलले बताए।

ग्रीरलका अनुसार अमेरिका हाल करिब १,२०० अर्ब डलरको व्यापार घाटामा रहेको छ। यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने केही वस्तुमा कर लगाउने निर्णय गरेका थिए, जसको असर विश्व बजारमा व्यापक रुपमा देखिएको थियो।
यो सम्झौता सफल भएमा दुई देशबीचको व्यापारिक तनाव केही घट्ने अपेक्षा गरिएको छ। आर्थिक विश्लेषकहरूका अनुसार यसले विश्व बजारमा स्थिरता ल्याउन सहयोग पुर्याउनेछ।