काठमाडौं, १४ वैशाख – नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्थीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोगको नेतृत्व महेश थापालाई
संघीय सरकारको निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ। उहाँसँगै आयोगमा पाँचजना सदस्यहरू नियुक्त भएका छन्, जसमा विभिन्न भूगोल तथा पृष्ठभूमिका व्यक्तिहरू समावेश छन्। सदस्यहरूमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा. टीका प्रसाद ढकाल (पाँचथर), पदम बहादुर शाही (जुम्ला), र कुमारी कौशल्या ओझा (कञ्चनपुर) रहेका छन्।
वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष लीलादेवी गडतौला
तेह्रथुमकी लीलादेवी गडतौला वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त हुनु भएको छ। आयोगमा उहाँसँगै चारजना सदस्यहरू पनि नियुक्त भएका छन् – गोपाल नाथ योगी (सल्यान), अग्नी प्रसाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौँ), र बिनिता नेपाली (कास्की)।
यी दुवै आयोगको गठन द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन र पीडितको न्याय सुनिश्चित गर्न महत्त्वपूर्ण मानिन्छ। आयोगहरूलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक स्रोत, अधिकार र सहयोग प्रदान गरिनुपर्ने मानव अधिकारकर्मीहरूले बताउँदै आएका छन्।
नयाँ नेतृत्वको चयनसँगै द्वन्द्व पीडितका मुद्दा निष्पक्ष, विश्वसनीय र प्रभावकारी ढंगले अगाडि बढ्ने अपेक्षा गरिएको छ ।