ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले देशमा लोडसेडिङ भएको भन्ने चर्चा सत्य नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो हल्ला सामाजिक सञ्जालमार्फत नियोजित रूपमा फैलाइएको मात्र हो।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक विद्युत् माग पूरा गरेर भारततर्फ निर्यात सुरु गरिसकेको जानकारी गराए। वर्षा शुरु भएसँगै जलविद्युत् उत्पादनमा वृद्धि भई भारतबाट आयात रोकिएको र आजैदेखि निर्यात थालिएको उनले बताए।
उनका अनुसार हिउँद याममा विद्युत् उत्पादन कम हुँदा करिब १,०५५ मेगावाटसम्म आयात गरिएको थियो, तर हाल पर्याप्त उत्पादन भएपछि सर्वसाधारणदेखि उद्योगसम्मलाई आपूर्ति सहज रूपमा भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले मंगलबार मध्यरातदेखि भारततर्फ ७३१ मेगावाट विद्युत् बिक्री भइसकेको पुष्टि गरिसकेको छ। यद्यपि केही व्यक्तिहरूले लोडसेडिङको हल्ला फैलाइरहेको भन्दै मन्त्री खड्काले त्यसप्रति आपत्ति जनाए।
उनले केही विदेशस्थित व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरेर बत्ती गएको गुनासो गर्ने गरेको बताए। तर त्यस्ता स्थानहरूमा प्राविधिक टोली पठाउँदा विद्युत् आपूर्ति नियमित पाइने गरेको अनुभव सुनाए।
“लोडसेडिङ होइन, पोल ढल्ने, मर्मतसम्भार, वा हावाहुरीले तार चुँडिनेजस्ता प्राविधिक कारणले कतै-कतै अस्थायी समस्या देखिएको हो,” मन्त्री खड्काले स्पष्ट पारे।
उनले विद्युत् उत्पादन अहिले देशको आवश्यकताभन्दा बढी रहेको बताउँदै, यस अवस्थामा लोडसेडिङ भएको भन्नु तथ्यविहीन रहेको बताए। साथै, विद्युत् आपूर्ति अवरुद्ध भएमा नेपाल विद्युत् प्राधिकरणले समयमै सूचना दिने अभ्यास गरिरहेको उनले उल्लेख गरे।
विगत वर्षहरूमा पनि वर्षको करिब ७ सय घण्टा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने गरेको भन्दै, यसलाई लोडसेडिङ भन्न मिल्दैन भन्ने तर्क गरे।
मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत बढ्ने प्रक्षेपण गर्दै उत्पादन विस्तारको योजना अगाडि बढाइएको जानकारी दिए। साथै, उनले सामाजिक सञ्जालमा तथ्यविहीन हल्लामा विश्वास नगरी प्रमाणमा आधारित सूचनालाई विश्वास गर्न जनतालाई आग्रह गरे।