अनिल कुमार यादव ,रौतहट, माधवनारायण — मधेश प्रदेशको रौतहट जिल्ला अन्तर्गत माधवनारायण नगरपालिका वडा नं ०७ लौकाहाका बासिन्दा अहिले पनि भिषण गर्मी र असह्य विद्युत् अभावका बीच दिन बिताउन बाध्य छन्। लगातार बिद्युत् आउने–जाने समस्याका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यस समस्याले स्थानीय नागरिक मात्र होइन, बालबालिका, वृद्धवृद्धा र बिरामीहरू समेत गम्भीर जोखिममा परेका छन्।
स्थानीयवासीहरूका अनुसार यो समस्या कुनै नयाँ होइन — विगत केही महिनादेखि ट्रान्सफर्मरको क्षमताभन्दा बढी लोड परिरहेकाले विद्युत् आपूर्तिमा पटक–पटक बाधा आइरहेको छ। तर, यहाँको स्थानीय सरकार — वडा अध्यक्ष दिलीप कुमार यादव र नगर प्रमुख बैजनाथ यादव (बैजु) — यस समस्याप्रति पूर्णतः मौन देखिएका छन्।
“हामी तातोमा जलिरहेछौं, बालबालिकालाई रातभर घामको ताप झैं पसीना आउँछ, बिरामी चल्नै सक्दैनन्। न त वडाले सुन्छ, न नगरपालिकाले। आखिर हामी जनताले यति ठूलो जनआन्दोलन गरेर यस्तो सरकार ल्याएको के यस्तै बेवास्ताका लागि हो?” — एक स्थानीय वृद्धले रोष प्रकट गरे।
विद्युत् आपूर्तिको समस्याले व्यापारीक क्रियाकलापदेखि लिएर घरेलु दैनिकी समेत अस्तव्यस्त पारेको छ। उद्योगधन्दा ठप्प छन्, विद्युत् उपकरण चल्न सकेका छैनन्, गर्मीले विद्यालयमा पढाइसमेत प्रभावित भएको छ।
स्थानीय सरकार र तीनै तहका सरकारी संयन्त्रहरूप्रति आक्रोश व्यक्त गर्दै जनताले तत्काल विद्युत् समस्या समाधानका लागि ट्रान्सफर्मर थप गर्न, वा आवश्यक प्राविधिक सुधार गरि निरन्तर आपूर्ति सुनिश्चित गर्न जोडदार माग गरेका छन्।
जनताको आक्रोशको भाषा स्पष्ट छ — “सरकार कर उठाउनका लागि मात्रै होइन, नागरिकका आधारभूत आवश्यकताको प्रत्याभूति गर्नकै लागि हो। हाम्रो स्वास्थ्य, हाम्रा सन्तान, हाम्रो जीवनको सुरक्षा राज्यको नै जिम्मेवारी हो।”
यस्तो अवस्थामा सम्बन्धित निकायहरू — विशेष गरी माधवनारायण नगरपालिका, नेपाल विद्युत् प्राधिकरण, र प्रदेश तथा संघ सरकार —ले यथाशक्य चाँडो जनताको आवाज सुनेर यथोचित कदम चाल्नु अनिवार्य देखिन्छ।
माधवनारायण-०७ लौकाहामा विद्युत् संकट: भीषण गर्मीमा जनजीवन कष्टकर, स्थानीय सरकारको बेवास्ता!
