सुनित कुमार झा रौतहट २०८२/०९/०४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो रिहाइलाई अन्तिम जित नभई न्याय प्राप्तिको यात्राको एक चरण मात्र भएको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू मात्र होइन, देशकै न्यायका लागि अझ ठूलो संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरे।
लामिछानेले भने,
“मैले ‘न्यायको लडाइँ बाँकी छ’ भनेको केवल मेरो व्यक्तिगत विषय होइन। यो देशमा न्याय चाहने प्रत्येक नागरिकका लागि लडाइँ बाँकी छ। ममाथि भएको अन्यायभन्दा ठूलो अन्याय देशमाथि भएको छ, र त्यसको हिसाबकिताब अझै गर्नुछ।”
उनका अनुसार अहिले विस्तृत रूपमा बोल्ने समय आएको छैन। सबै विषयको तथ्य र हिसाब मिलिसकेपछि आफूले स्पष्ट रूपमा धारणा राख्ने संकेत पनि उनले गरे।
“आज धेरै बोल्ने समय होइन। हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ। त्यो पूरा भएपछि विस्तारमा बोलिन्छ,” उनले थपे।
खराब मौसमका कारण सडकमार्ग हुँदै भैरहवा
काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा जाने तयारी भए पनि खराब मौसमका कारण लामिछाने चितवनसम्म मात्र जहाजमा आएका थिए। त्यसपछि उनी सडकमार्ग प्रयोग गर्दै साँझ करिब पौने ६ बजे भैरहवा जिल्ला कारागार पुगेका थिए।
कारागारमा पुग्दा र रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। समर्थकहरूले नाराबाजी गर्दै खुशीयाली मनाएका थिए।
धरौटीमा रिहा, बैंक जमानत पेश
रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार केही सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरिएको हो। आवश्यक बैंक जमानतका कागजात बुझाएपछि उनलाई थुनामुक्त गरिएको जानकारी अदालतले दिएको छ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। उच्च अदालतले बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाउने सर्तमा उनलाई रिहा गर्न आदेश दिएको थियो।
राजनीतिक र सार्वजनिक चासो कायमै
रवि लामिछानेको गिरफ्तारीदेखि रिहाइसम्मको घटनाक्रमले राष्ट्रिय राजनीतिमा व्यापक चर्चा पाएको थियो। उनको पछिल्लो अभिव्यक्तिले यो विषय अझै टुंगिएको नभई कानुनी, राजनीतिक र नैतिक बहसको केन्द्रमै रहने संकेत दिएको छ।
उनले बारम्बार दोहोर्याएको “हिसाब बाँकी छ” भन्ने भनाइले आगामी दिनमा थप राजनीतिक गतिविधि र सार्वजनिक धारणा आउने अपेक्षा गरिएको छ।
