“सुनित कुमार झा रौतहट २०८२/०९/१५ नेपो किड्स होइन, मेरिट किड्स” — जेन–जी आन्दोलनको यही मूल नारा थियो। शक्ति, सत्तामा बसेकाहरूले आफ्ना सन्तान र आफन्तलाई सहज रूपमा अगाडि सार्ने प्रवृत्तिको खुलेर विरोध गर्दै उदाएको यो आन्दोलनले नेपाली राजनीतिमा नयाँ आशा जगाएको थियो। यही आन्दोलनको राजनीतिक विस्तारका रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्लो समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएसँगै भने आन्दोलनकै आत्मा संकटमा परेको देखिन्छ।
रास्वपाले सार्वजनिक गरेको समानुपातिक सूचीमा प्रभावशाली उद्योगपति, पूर्वउच्चपदस्थ अधिकारी र पार्टी नेतृत्वसँग नजिकका पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएपछि ‘रास्वपा पनि पुरानै राजनीतिक रोगतर्फ फर्किएको हो ?’ भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ।
उद्योगपति ढकालका छोरा : योग्यताभन्दा पहुँच बलियो ?
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल खस आर्य समूहअन्तर्गत समानुपातिक सूचीको दोस्रो नम्बरमा परेका छन्। सहमहामन्त्री विपिनकुमार आचार्यपछि सिधै उच्च स्थानमा समावेश गरिनु आफैंमा असामान्य मानिएको छ।
राजनीतिक संघर्ष, पार्टी निर्माणमा योगदान वा सार्वजनिक रूपमा चिनिने राजनीतिक सक्रियता नदेखिएका ढकाललाई यति उच्च प्राथमिकता दिनुका आधार के हुन् ? पार्टीभित्रैका केही नेताहरूले बन्द कोठामा प्रश्न उठाए पनि औपचारिक जवाफ सार्वजनिक भएको छैन। “यदि यही काम कुनै पुरानो दलले गरेको भए रास्वपाले सडक तताउने थियो,” एक असन्तुष्ट रास्वपा नेताको टिप्पणी छ।
कूटनीतिक पृष्ठभूमिबाट संसदसम्म ?
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास आदिवासी जनजाति महिला कोटाबाट तेस्रो नम्बरमा परेकी छन्। समावेशी प्रतिनिधित्वको नाममा प्रभावशाली परिवारका सदस्यहरूलाई निरन्तर प्राथमिकता दिनु वास्तविक रूपमा सीमान्तकृत समुदायको प्रतिनिधित्व हो कि प्रतीकात्मक समावेशीता मात्र भन्ने बहस चर्किएको छ।
शाह परिवारको प्रभाव : बैठकदेखि टिकटसम्म
यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका असीम शाहपछि यसपटक उनका दाजु आसिफ शाह मुस्लिम कोटाबाट पहिलो नम्बरमा सूचीकृत छन्।
पार्टीका शीर्ष नेताहरू रवि लामिछाने र बालेन शाहबीचका पटक–पटकका महत्वपूर्ण छलफल शाह परिवारकै निवासमा भएको तथ्य पार्टीभित्र खुलेआम चर्चामा छ।
“सामान्य कार्यकर्ताका लागि पार्टी कार्यालयसम्म पुग्न गाह्रो छ, तर केहीका घरमै नीति र निर्णय तय हुन्छ,” एक रास्वपा स्रोत भन्छ, “यसलाई संयोग भन्न सकिँदैन।”
उपसभापतिको आफन्त : संयोग कि संरक्षित अवसर ?
रास्वपाको समानुपातिक सूचीमा उपसभापति कुलमान घिसिङका भाञ्जाको नाम आदिवासी जनजाति कोटाबाट पहिलो नम्बरमा देखिनु थप विवादास्पद बनेको छ। पार्टी स्रोतका अनुसार डा. राम लामा र कुलमान घिसिङबीच मामा–भाञ्जाको सम्बन्ध रहेको छ।
यदि योग्यता नै एकमात्र मापदण्ड हो भने, पार्टीले पारिवारिक सम्बन्ध खुलाएर सार्वजनिक मापदण्ड किन प्रस्तुत गरेन ? प्रश्न अझै अनुत्तरित छ।
जेन–जीको सपना र राजनीतिक यथार्थ
रास्वपाले आफूलाई ‘पुराना दलभन्दा फरक’ भनेर स्थापित गर्दै आएको छ। तर पछिल्लो समानुपातिक सूचीले भने फरक अनुहार, उही प्रवृत्ति को आभास दिएको आलोचकहरूको निष्कर्ष छ।
नेपोवादको विरोध गरेर राजनीति प्रवेश गरेका नेताहरूले नै यदि शक्ति सन्तुलन बदल्ने क्रममा आफन्त र पहुँचवालालाई प्राथमिकता दिन थाले भने जेन–जी आन्दोलनको विश्वसनीयता कति बाँकी रहन्छ ?
रास्वपाका लागि यो सूची केवल उम्मेदवारको नामावली मात्र होइन, आफ्नै राजनीतिक नैतिकताको कठोर परीक्षा बनेको छ।
