सुनित कुमार झा रौतहट २०८२/०९/२८
माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द, हजारौँ बीमित नागरिक उपचारविहीन हुने जोखिम
काठमाडौं । देशकै अग्रणी सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेपछि सार्वजनिक स्वास्थ्य प्रणाली नै गम्भीर संकटमा परेको छ। यो निर्णय केवल एउटा अस्पतालको आन्तरिक समस्या नभई स्वास्थ्य बीमा कार्यक्रमकै असफलता तर्फ संकेत गर्ने गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
४० करोड बक्यौता, दुई वर्षदेखि घाटामा सेवा
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले टिचिङ अस्पताललाई ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी राखेको छ। लामो समयदेखि दाबी भुक्तानी नहुँदा अस्पतालले विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट खर्च धान्दै बीमितलाई सेवा दिँदै आएको थियो।
सूचना अधिकारी डा. गोपाल सेढाईंका अनुसार अब त्यो अवस्था टिक्न नसक्ने चरणमा पुगेको छ।
“हामीले निरन्तर घाटा व्यहोर्दै सेवा दिएका थियौं। तर अब औषधि, उपकरण, तलब–भत्ता जस्ता आधारभूत खर्च नै व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छौं,” उनले बताए।
मासिक ५ करोड खर्च, आधा दाबी पनि नस्वीकृत
टिचिङ अस्पतालको मासिक सञ्चालन खर्च ५ करोड रुपैयाँभन्दा बढी रहेको छ। तर स्वास्थ्य बीमा बोर्डले अस्पतालले पेश गर्ने दाबीमध्ये करिब ५० प्रतिशत मात्र स्वीकृत गर्ने गरेको अस्पतालको दाबी छ।
अस्पताल र बीमा बोर्डबीच उपचार शुल्क (दररेट) मा ठूलो अन्तर छ। अस्पताल प्रशासनले पटक–पटक दररेट समायोजन गर्न आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेको छ। यही कारण अस्पतालले बीमित बिरामीको उपचार गर्दा प्रत्येक महिना थप आर्थिक घाटा व्यहोर्नु परेको देखिन्छ।
सप्लायरलाई ५ महिनादेखि भुक्तानी छैन
खोजमूलक रूपमा बुझ्दा, अस्पतालको आर्थिक संकट केवल कागजी हिसाबमै सीमित छैन।
औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गर्ने सप्लायरलाई पाँच महिनादेखि भुक्तानी हुन नसकेको अवस्था छ। यसले औषधि आपूर्ति अवरुद्ध हुने, उपचार प्रभावित हुने र आकस्मिक सेवासमेत जोखिममा पर्ने सम्भावना बढाएको छ।
एक सप्लायर स्रोत भन्छ,
“सरकारी अस्पताल भएकाले विश्वास गरेर सामान दिएका हौं। तर महिनौँ भुक्तानी नआउँदा हामी पनि संकटमा छौं।”
देशभर ११ अर्बभन्दा बढी भुक्तानी बाँकी
स्वास्थ्य बीमा बोर्डकै तथ्यांकअनुसार देशभरका सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। यो तथ्यले समस्या टिचिङ अस्पतालमा मात्र नभई पूरे स्वास्थ्य बीमा प्रणाली नै धरापमा परेको पुष्टि गर्छ।
धेरै अस्पतालहरूले भुक्तानी नआए आगामी केही हप्ताभित्र बीमा सेवा बन्द गर्ने चेतावनी दिइसकेका छन्। यदि त्यो अवस्था आयो भने लाखौँ बीमित नागरिक उपचारबाट वञ्चित हुनेछन्।
सरकारको अनुदान नआउँदा बोर्ड नै असहाय
स्वास्थ्य बीमा ऐन अनुसार बीमितको उपचार खर्च सरकारले अनुदानमार्फत व्यवस्थापन गर्नुपर्छ। तर सरकारले पर्याप्त बजेट नदिँदा स्वास्थ्य बीमा बोर्ड स्वयं आर्थिक संकटमा परेको छ।
बोर्डले अस्पताललाई भुक्तानी गर्न नसक्नुको मुख्य कारण यही सरकारी अनुदान अभाव रहेको देखिन्छ।
बीमित नागरिक ठगिँदै?
खोजमूलक रूपमा हेर्दा, नियमित रूपमा बीमा शुल्क तिर्दै आएका नागरिक अहिले सबैभन्दा ठूलो मारमा परेका छन्। सेवा बन्द भएपछि बीमितले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने वा उपचार नै छोड्नुपर्ने अवस्था आउन सक्छ।
स्वास्थ्य नीति विज्ञहरू भन्छन्,
“यदि तत्काल सुधार गरिएन भने स्वास्थ्य बीमा कार्यक्रम कागजमै सीमित हुने खतरा छ।”
समाधान नखोजिए कार्यक्रम नै अलपत्र
टिचिङ अस्पतालको निर्णयले सरकार, स्वास्थ्य बीमा बोर्ड र नीति निर्मातामाथि गम्भीर प्रश्न उठाएको छ।
समस्या समाधानका लागि
• बक्यौता तत्काल भुक्तानी
• दररेट यथार्थपरक समायोजन
• बीमा बजेट वृद्धि
• दाबी प्रणाली सरलीकरण
जस्ता कदम तुरुन्त चाल्नुपर्ने आवश्यकता देखिएको छ।
नत्र, स्वास्थ्य बीमाको सपना देखाइएका सर्वसाधारण नागरिकका लागि यो कार्यक्रम आश्वासनमै सीमित हुने खतरा बढ्दै गएको छ।
