मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् ।सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भएपनि त्यसपछि जनताले हरेक मन्त्रीलाई प्रश्न गर्ने भन्दै कामको प्लान बनाउन निर्देशन दिएका हुन् ।
‘हामीलाई हनिमुन डे मनाउने फुर्सद छैन । रातदिन गरेर काम गर्नुछ । हरेकले त्यो अवधिमा गर्ने कामको योजना बनाउनुस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘सय दिनमा के–के गर्नुभयो ? भन्दा यो यो गरेँ । कमसेकम तीनवटा काम, पाँचवटा काम भनेर गरौँ ।’ उनले सय दिनमा हरेक मन्त्रालयका प्रतिवेदन सरकारले निकाल्ने भन्दै त्यो प्रतिवेदन उत्साहवर्दक र आकर्षक हुनुपर्ने पनि बताए । प्रधानमन्त्रीले केही राष्ट्रिय प्राथमिकताका आयोजनाहरू १५ वर्षमा १५ प्रतिशत मात्र पुरा भएको भन्दै त्यस्ता कुराहरूमा पुनरावलोकन गर्नुपर्ने बताए ।