रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा दोरम्बा शैलुङ–३ की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।
अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् । एकजना बालिका अञ्जना श्रेष्ठको घाइते अवस्थामा उद्धार गरिएको छ ।