दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरू जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’
दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् । फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।
मञ्चका अध्यक्ष एवम् भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे ।