सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाकालागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन्।उनको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताइन्। राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरुकोफरक–फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।
संविधान अनुसार सिफारिस भएकाहरूकोसंसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।
बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेशियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत दर्ज गराएको सभापति न्यौपानेले जानकारी दिइन्।