भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।छोरा जीशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए।गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पताल लगिएको थियो तर चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी भारतीय राष्ट्रिय कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा आबद्ध थिए ।घटनाको जानकारी दिँदै मुख्यमन्त्री शिन्देले भने, “पूर्वमन्त्री बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उनको मृत्यु भयो । यो दुःखद घटना हो । दुई आरोपित पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो आरोपितलाई पनि छिट्टै पक्राउ गरिने कमिश्नरले मलाई बताएका छन् । पक्राउ गरिएका एक आरोपित हरियाणा र एक उत्तर प्रदेशका हुन् ।” बीबीसी हिन्दीबाट ।
भारतका पूर्वमन्त्री बाबा सिद्दिकीमाथि गोली हानी हत्या ।
