नेपाली कांग्रेसले देशभरका ७७ जिल्लाका सभापति तथा उपसभापतिहरूलाई लक्षित गरी सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी कार्यदिशाबारे स्पष्ट मार्गनिर्देशन दिन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
पार्टी नेतृत्वका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीको नीति, संगठन विस्तार, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। पार्टी सभापति, वरिष्ठ नेताहरू तथा अन्य पदाधिकारीहरूले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसले हालै सम्पन्न अधिवेशनपछि संगठनलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा, पार्टीको नेतृत्व तहलाई प्रभावकारी रूपमा परिचालन गर्न तथा जिल्ला तहसम्म एकरूपता ल्याउने उद्देश्यले यो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा सहभागी सभापति तथा उपसभापतिहरूले संगठनात्मक सुदृढीकरण, नीति निर्माण र क्रियाशील सदस्यता व्यवस्थापनका विषयमा आफ्नो धारणा राख्ने अवसर पाउनेछन्। साथै, आगामी निर्वाचन तयारी, पार्टीभित्रको एकता, र सरकारसँगको समन्वय जस्ता विषयहरू पनि छलफलको केन्द्रमा रहने अनुमान गरिएको छ।
अभिमुखीकरण कार्यक्रमबाट नेपाली कांग्रेसका जिल्ला तहका नेतृत्वले स्पष्ट मार्गदर्शन पाउने तथा पार्टीलाई अझ सशक्त बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।