चितवन – सहारा चितवन सहकारी संस्थाको रकम दुरुपयोग प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन उपस्थित भएका छन्। मंगलबार उनीविरुद्ध ठगी सम्बन्धी मुद्दा दर्ता भएपछि आज बिहान उनी अदालतमा पेश भएका हुन्।
जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेको बयान सुरु हुन लागेको छ। बयान सम्पन्न भएपछि थुनछेक बहस अघि बढाइनेछ, जसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा राख्ने वा थुनामा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ।
लामिछानेविरुद्ध कास्की, काठमाडौं, र रुपन्देही जिल्ला अदालतहरूमा समेत संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ। अभियोजन पक्षका अनुसार पोखरा र बुटवलका सहकारीबाट उनले आफैं ऋण लिएको देखिएपछि संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको हो। तर, चितवनमा भने उनी आफैंले ऋण नलिएको देखिएकाले ठगी सम्बन्धी कसुरमा मात्र अभियोग लगाइएको बताइएको छ।
अभियोग पत्रअनुसार सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा ३ करोड ५० लाख रुपैयाँ पुगेको तथ्य देखिएको छ। यस्तै, अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा जम्मा भएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रकम लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ। यो रकम खर्च गर्न उनले ८१४ वटा चेक जारी गरेको विवरण अभियोग पत्रमा समावेश गरिएको छ।
मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिल कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा सरुवा गरिएको थियो। यस घटनाले थप राजनीतिक र कानूनी चासो बढाएको छ भने रवि लामिछानेको भविष्य कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न अड्कलबाजी सुरु भएको छ।